स्टेफन आर कोभे अमेरिकाका एक विश्व प्रसिद्ध लेखक हुन । उनि अगुवाइ विधामा अध्ययन, खोज लेखन, तालिम गर्ने एक चर्चित विद्धान मानिन्छन । उनले लेखेको The Seven Habit of Highly Effective people (प्रभावकारी मानिसका सात गुणहरु) पुस्तक फोब्स तथा टाइम म्यागेजीनको अत्यन्त प्रभावशाली पुस्तकको सूचीमा परेको पुस्तक हो । यो पुस्तक विभिन्न ३८ भाषामा २ करोड ५० लाख प्रति बिक्रि भएको छ । यस पुस्तकमा उनले प्रभावकारी व्यक्तिहरुका सात प्रभावकारी गुणहरुलाई अत्यन्त प्रभावकारी तथा सिलसिलेवार तरिकाले प्रस्तुत गरेका छन् । जसले मानिसहरुको दिमाग हल्लाईदिने र परिवर्तन गरिदिने शक्ति राख्दछन् । म यस लेखमा ति गुणहरुको चर्चा गर्न भने गईरहेकोे छैन । त्यही पुस्तक भित्र उनले प्रस्तुत गरेको (Three Steps of Leadership Development ) “अगुवाइ विकासका तिन चरणहरु” बारे चर्चा गर्न गैरहेको छु । जो निकै सहज, व्यवहारिक साथै प्रयोगयोग्य रहेका छन् ।
स्टेफन आर. कोभे ले चर्चा गरे अनुसार अगुवाइ विकासका तीन तह हुन्छन् ।
१) परनिर्भर तह (Dependent Stage)
२) आत्मनिर्भर तह (Independent Stage)
३) अन्तरनिर्भर तह (Inter Dependent Stage)
१) परनिर्भर तह (Dependent Stage)
परनिर्भर तह अगुवाइ विकासको प्रथम चरण मानिन्छ । यसलाई अगुवाइ विकासको बेबी स्टेज पनि भनिन्छ । जहाँ व्यक्तिलाई आफु र आफ्नो क्षमता प्रति निकै कम विश्वास हुन्छ । उसलाई लाग्छ कि यो संसारमा अरु सबै सक्षम छन् । म भने कमजोर छु । म केही गर्न सक्दिन । त्यसैले यो स्टेजलाई Lose/Win पनि भनिन्छ । किनकी यो स्टेजमा व्यक्तिलाई लाग्छ ,म खतम छु । उनीहरु उत्कृष्ट छन् । म कमजोर छु । उनीहरु सक्षम छन् । म सक्दिन / उनीहरु सक्छन् । अर्थात “म हार्छु, उनीहरु मात्र जित्छन्”। वास्तवमा यो स्टेजको व्यक्ति बच्चा जस्तै हुन्छ । उसलाई आफ्नो फील्डलाई आबश्यक Knowledge (ज्ञान), Skill (सीप) र Attitude (मनोवृति) को कमी हुन्छ वा त्यस प्रति अति कम आत्मविश्वास हुन्छ ।
यो तहका ब्यक्तिलाई कसरी ब्यवहार गर्ने ? त्यसतर्फ थोरै चर्चा गरौं । जसरी बच्चालाई हामी ताते ताते गरेर हिडाउँछौ । माया गरेर सिकाउँछौ । खाना उसैका लागि हो । तर त्यो पनि मायाँ गरेर खुवाउँछौं । यो स्टेजको व्यक्तिलाई त्यस्तै माया, प्रेरणा, उत्साह, सहयोग ,तालिम, उदाहरणद्वारा नेतृत्व आदिको खाँचो पर्दछ । जसरी हप्काई, धम्काई, च्यालेन्ज, नकारात्मकता, दण्ड आदिले बच्चाको मानसिक विकासमा नकारात्मक प्रभाव पर्छ । त्यसैगरी यो अबस्थाका ब्यक्तिमा त्यस्ता ब्यवहारले मानसिक विकासमा नकारात्मक प्रभाव पर्छ जसले गर्दाथप अगाडि बढ्न हतोत्साही गराउँदछ । त्यसैले जब हामी मायाँ, सकारात्मक व्यवहार, मेन्टरीङ, कोचिङ, उत्प्रेरणा, उदाहरण मार्फत सिकाई, तालिम आदि मार्फत उक्त व्यक्तिलाई थप अगाडि बढ्न प्रेरित गर्दछौ । तब विस्तारै उ अगुवाइ विकासको दोश्रो तहमा प्रवेश गर्छ ।
२) आत्मनिर्भर तह (Independent Stage) :
अगुवाइ बिकासको परनिर्भर तह पार गरेपछि कुनै पनि व्यक्ति आत्मनिर्भर तहमा प्रवेश गर्दछ । यो तह अगुवाइ विकासको युवा अवस्था हो । यो अवस्थामा व्यक्तिलाई आफु, आफ्नो क्षमता, आफ्नो सिप, दक्षताप्रति अधिक आत्मविश्वास हुन्छ । र त्यही अनुसार अगाडि बढ्न खोज्दछ । अब उसलाई लाग्दछ कि “अरु कमजोर छन् । म सक्षम छु ” । “अरु जन्दैनन, म जान्दछु” । “अरु खतम छन् । म अब्बल छु” । “अरु हार्छन, म जित्छु” आदि । त्यसैले अगुवाइ विकासको यो अबस्थालाइ Win/Lose स्टेज भनिन्छ । यो अवस्थाका व्यक्तिमा प्रतिस्पर्धाको भाव बढी हुन्छ । ताकी उ अरुलाई हराएर जित्न प्रेरीत हुन्छ । यो अवस्था अगुवाई विकासको अत्यन्त जागरुक र उत्साहित अवस्था हो । तथापि यो अवस्थाका व्यक्तिमा केही चुनौतिपूर्ण गुणहरु पनि देखिन्छन् । जस्तै I am the best म नै सर्वश्रेष्ठ हु । म जस्तो जान्ने कोही छैन । मैले नै जित्नु पर्छ । खै मेरो सम्मान ? मलाई नगन्ने ? आदि । यो अवस्थामा कहिलेकाही ज्ञान, विचार र विवेक भन्दा जोस बढी देखा पर्न सक्दछन् । तसर्थ कहिलेकाही द्धन्द्धमा फस्ने, बढी रियाक्ट गर्ने, सम्बन्धमा असर पर्ने, बोली र ब्यवहारका कारण अरुको भावनामा आँच पुग्ने ,आवेगमा अलि कच्चा निर्णय हुने आदि प्रभावहरु पर्न सक्दछन् ।
त्यसैले यो अवस्थाका व्यक्तिलाई थप कोचिङ, ट्रान्सफरमेशनल लर्निङ, ट्रेनिङ, केही च्यालेन्ज र जिम्मेवारी, सजगताको प्रेरणा, सकारात्मक सिकाई परिवेश, आध्यात्मिक बिकास,सहभागिता आदि वातावरणहरु सृजना गर्नुपर्दछ । ताकी उसमा जोसका साथै होस, विचार र विवेकको विकास हुन सकोस् । अब उसलाई हर बखत सिकाउने भन्दा जिम्मेवारी दिएर कार्य गर्ने वातबरण सृजना गर्ने र बेलाबेलामा सृजनात्मक फिडब्याक दिने गर्नुपर्छ ।
३) अन्तरनिर्भर तह (Interdependent Stage)
स्टेफान आर कोभेका अनुसार अन्तरनिर्भर तह अगुवाइ विकासको उच्चतम तह हो । यसलाई अगुवाइ विकासको आदर्श अवस्था भन्दा पनि हुन्छ । यो अवस्थाको व्यक्तिमा आफ्नो क्षेत्रको आवश्यक ज्ञान, सिप, Attitude (प्रवृति) भरपूर्ण हुन्छ । उसमा जोस, उत्साह, मोटिभेसन, आत्मविश्वास त हुन्छ नै । उ विचार, ज्ञान र विवेकले पनि भरिपूर्ण हुन्छ । अगुवाइ विकासको यो तहमा पुगेको व्यक्ति अरु प्रति नम्र, सहयोगी, र धन्य हुन्छ । किनकी उसलाई थाहा हुन्छ । “हो म सक्षम छु । तथापि मलाई पनि अरुको सहयोग र साथ चाहिन्छ ”। जसरी ढुङगालाई माटो र माटोलाइ ढुङगाको भर पर्नु पर्दछ । हामी यो प्रकृतिका हर वस्तु तथा मानवसँग निर्भर छौ । एकलाई अर्काेको आवश्यकता छ । किनकी हामी कोही पनि पूर्ण छैनौ ।
अगुवाइ विकासको यो उच्चतम अवस्थालाई अगुवाइ विकासको Win/Win अवस्था पनि भनिन्छ । जहाँ व्यक्ति आफु पनि जित्न र अरुलाई पनि जिताउन चाहन्छ । यो अवस्थाको व्यक्तिहरु सम्बन्ध, व्यवहार र अवस्थामा Win/Win भावबाट निर्देशित हुन्छन् । आफु भन्दा अरुलाई महत्व दिने, म भन्दा हामी भाव व्यक्त गर्ने, क्रेडिट अरुलाई दिने, आफ्नो कार्य र कमिकमजोरी प्रति जिम्बेवार हुने । गल्तिमा आवश्ययकता अनुसार क्षमा माग्न र क्षमा दिन सक्ने, खुलेर सहयोग लिने र दिने, अरुलाई आदर र सम्मान दिने, अरुका भन्दा आफ्ना कमिकमजोरी खोजि गर्ने, गुनासो भन्दा जिम्मेवारी वहन गर्ने, समूहकार्यमा सकाारात्मक माहोल सृजना गर्ने, हर समय प्रेरित रहने र अरुलाइ प्रेरणा दिने, मासमा प्रशंसा र एकान्तमा कमजोरी बताउने, सच्चा प्रशंसा र सहि फिडब्याक दिने, उदाहरणबाट अगुवा गर्ने , अरुको सफलताको प्रयत्न गर्ने र यसमा रमाउने जस्ता सकारात्मक गुणहरु प्रचुर मात्रामा पाइन्छन् । त्यसैले यो अवस्थालाई अगुवाई विकासको आदर्श अवस्था वा बुद्धत्वको अवस्था पनि भनिन्छ ।
केही लेखक तथा विश्लेशकहरु अगुवाई विकासको यो अवस्थालाई कोरा कल्पना पनि भन्दछन् । किनकि एउटा सान्सारिक ब्यक्तिमा कहिलेकाहि यो अबस्थाका शत प्रतिशत गुणहरु आर्जन गर्न केहि कठिन पनि हुन सक्दछ । तर समग्रमा यो मान्यता सबै स्वीकार्दछन् कि , तिब्र आकांक्षा, लगातारको सकारात्मक वातावरण, संगत, ट्रान्सफरमेशनल सिकाइ र तालिम ,निरन्तर स्व-मुल्याङकन, आध्यात्मिक विकास आदिले कुनै पनि व्यक्ति अगुवाइ विकासको उच्चतम तह अन्तर निर्भर तहमा पुग्न भने सम्भव छ ।
अन्तमा : अगुवाइ विकासको चाहना राख्ने हरु व्यक्ति स्टेफन आर. कोभेले परिकल्पना गरेका अगुवाइ विकासका चरणहरु पार गर्नु पर्दछ । यो हर क्षेत्रमा लागु हुन्छ । सबै भन्दा महत्व कुरा कुन व्यक्ति कुन तहमा छ र उस्लाई कस्तो व्यवहार गर्ने भन्ने हो । किनकि जो सुकै परिनिर्भर तहमा भएको व्यक्तिले सही वातावरण, शिक्षा, सिकाइ, उत्साह आदि प्राप्त ग¥यो भने अगुवाइ विकासको उच्चतम अवस्थामा पुग्न सकिन्छ । यसको विपरित उपर्युक्त वातावरण पाएन भने निरुत्साहित र पलायन हुन सक्दछ ।
स्मरण रहोस कोभेका यी अगुवाइ विकासका चरणहरु व्यक्तिको पदका आधारमा हैन उसको मानसिकता र व्यवहारका आधारमा मापन गरिएको छ । तसर्थ कुनै पद वा पोजिसन प्राप्त व्यक्ति पनि मानसिकता र व्यवहारका हिसाबले पहिले वा दोश्रो तहमा पनि हुन सक्दछ भने कुनै पदमा नभएको व्यक्ति पनि अगुवाइ विकासको उच्चतम अवस्थामा हुन सक्दछ । एउटा कुरा भने निक्र्योल गर्न सकिन्छ । अगुवाइ विकास जति निरन्तर हुन्छ, त्यति नै ब्यक्ति अगुवाइ बिकासको जति माथिल्लो अबस्थामा पुग्दछ । व्यक्तिको सफलता उति नै बढी सुनिश्चित हुन्छ ।
बलराम सुवेदी